छात्रवृत्ति सम्बन्धी (छैठौं संशोधन) नियमावली, २०७२

छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० लाई संशोधन गर्न वाञ्छनीय भएकोले, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा १० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१.    संक्षिप्त नाम र प्रारम्भ :  

        (१) यी नियमहरूको नाम “छात्रवृत्ति सम्बन्धी (छैठौैं संशोधन) नियमावली, २०७२” रहेको छ ।

       (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२.    छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को नियम २ मा संशोधन : छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० (यसपछि “मूल नियमावली” भनिएको) को नियम २ को खण्ड (च) मा रहेका “छनौट गर्न” भन्ने शब्दहरु पछि “नियम १० बमोजिम” भन्ने शब्दहरु थपिएका छन् ।

३.    मूल नियमावलीको नियम ५ मा संशोधन : मूल नियमावलीको नियम ५ मा देहायको प्रतिवन्धात्मक वाक्यांश थपिएको छ :–

“तर नियम ३ को उपनियम (१) बमोजिम आयोगले विवरण माग नगरेको वर्षमा शिक्षा मन्त्रालयमा कुनै छात्रवृत्ति प्राप्त भएमा सो मन्त्रालयले ऐन तथा यस नियमावली बमोजिम उम्मेद्वार छनौट गरी अध्ययन वा तालीममा पठाउन सक्नेछ ।”

४.    मूल नियमावलीको नियम ७ मा संशोधन : मूल नियमावलीको नियम ७ को सट्टा देहायको नियम ७ राखिएको छ :–

“७.    छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार : छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क)   छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा नीति निर्धारण गर्ने,

(ख)   छात्रवृत्ति प्रदान गर्न विभिन्न निकायहरु बीच समन्वय कायम गर्ने,

(ग)    छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिता बनाई लागू गर्ने,

(घ)    परीक्षाको विवरण प्राप्त गर्ने सम्बन्धमा सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थासँग आवश्यक परामर्श र समन्वय गर्ने,

(ङ)    छात्रवृत्ति सम्बन्धमा आवश्यक अन्य काम गर्ने, गराउने ।”

५.    मूल नियमावलीको नियम ९ मा संशोधन : मूल नियमावलीको नियम ९ को सट्टा देहायको नियम ९ राखिएको छ :–

“९.    छनौट समितिको काम, कर्र्तव्य र अधिकार :   छनौट समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

 (क) सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट लिइएको परीक्षाको प्राप्ताङ्क सहितको विवरण प्राप्त गर्ने,

 (ख)  खण्ड (क) बमोजिमको प्राप्ताङ्क र उम्मेदवारको शैक्षिक योग्यता तथा आरक्षण सम्बन्धी प्रमाणका आधारमा साधारण तथा आरक्षण तर्फको योग्यताक्रम कायम गर्ने,

(ग)    छात्रवृत्तिमा मनोनयनको लागि शिक्षा मन्त्रालय समक्ष उम्मेद्वारको नाम सिफारिस गर्ने,

(घ)    खण्ड (क) बमोजिमको विवरण उपलब्ध हुन नसकी खण्ड (ख) बमोजिम योग्यताक्रम कायम गर्न नसकिने भएमा त्यस्तो छात्रवृत्तिमा मनोनयनको लागि निजामती सेवा सम्बन्धी प्रचलित कानून बमोजिमको छात्रवृत्ति बाँडफाँड समितिमा पठाउन वा अन्य उपयुक्त व्यवस्था गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गर्ने,

(ङ)    छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिताको मस्यौदा तयार गरी छात्रवृत्ति निर्धारण समिति समक्ष पेश गर्ने,

(च)    छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिता उल्लङ्घन गर्ने व्यक्ति उपर आवश्यक कारबाही गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गर्ने,

(छ)   छात्रवृत्ति प्राप्त गर्ने उम्मेदवार हुनको लागि चाहिने न्यूनतम योग्यता तोक्ने,

(ज)   छात्रवृत्ति सम्बन्धमा लिइएको परीक्षाको अनुगमन गर्ने,

(झ)   छात्रवृत्ति निर्धारण समितिले दिएको निर्देशन बमोजिम आवश्यक कार्य गर्ने,

(ञ)   छात्रवृत्तिमा उम्मेदवारको छनौट सम्बन्धी अन्य आवश्यक कार्य गर्ने, गराउने ।”

६.    मूल नियमावलीको नियम १० मा संशोधन : मूल नियमावलीको नियम १० को सट्टा देहायको नियम १० राखिएको छ :–

“१०.  छात्रवृत्तिको परीक्षा : (१) शिक्षा मन्त्रालयले छात्रवृत्ति सम्बन्धी परीक्षा सञ्चालन गर्नको लागि समय तोकी छात्रवृत्ति उपलब्ध गराउने नेपालका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थालाई लेखी पठाउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम लेखी आएमा त्यस्तो विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाले सो विषयमा शिक्षा मन्त्रालयले तोकेको समयमा परीक्षा सञ्चालन गर्न वा त्यस्तो समयमा आफ्नो विश्वविद्यालय वा शैक्षिक संस्थामा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिँदा छात्रवृत्ति प्रयोजनका लागि समेत हुने गरी एउटै परीक्षा सञ्चालन गर्न सक्नेछ ।

तर एक शैक्षिक सत्रको लागि एउटा विषयमा एक भन्दा बढी परीक्षा सञ्चालन गर्न सकिने छैन ।”

७.    मूल नियमावलीको नियम ११ मा संशोधन : मूल नियमावलीको नियम ११ को सट्टा देहायको नियम ११ राखिएको छ :–

“११.  दरखास्त आव्हान गर्ने : (१) छनौट समितिले छात्रवृत्तिमा छनौट गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनको लागि कम्तीमा सात दिनको म्याद दिई राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिहरुबाट दरखास्त आव्हान गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछ :–

(क)   परीक्षा दिएको विश्वविद्यालय वा शैक्षिक संस्था,

(ख)   न्यूनतम शैक्षिक योग्यता,

(ग)    नियम १०क. बमोजिम आरक्षण गरिएको छात्रवृत्तिको विवरण,

(घ)    दरखास्त साथ पेश गर्नु पर्ने सिफारिस तथा अन्य कागजात सम्बन्धी विवरण,

(ङ)    दरखास्तको ढा“चा र दरखास्त दिने स्थान,

(च)    दरखास्त दस्तुर,

(छ)  दरखास्त दिने माध्यम,

(ज)   दरखास्त बुझाउन सकिने अन्तिम दिन र समय,

(झ)   दरखास्त सम्बन्धी अन्य आवश्यक कुराहरु ।”

८.    मूल नियमावलीको नियम १२ मा संशोधन :  मूल नियमावलीको नियम १२ को,–

(१)   उपनियम (१) मा रहेका “लिइने परीक्षामा उम्मेदवार हुन”  भन्ने शब्दहरुको सट्टा “छात्रवृत्तिका लागि दरखास्त दिन”  भन्ने शब्दहरु राखिएका छन् ।

(२ )  उपनियम (२) मा रहेका “लिइने परीक्षामा उम्मेदवार हुन” भन्ने शब्दहरुको सट्टा “दरखास्त दिन”  भन्ने शब्दहरु राखिएका छन् ।

९.    मूल नियमावलीको नियम १३ मा संशोधन :  मूल नियमावलीको नियम १३ को सट्टा देहायको नियम १३ राखिएको छ :–

“१३. दरखास्त बुझाउनु पर्ने : नियम ११ बमोजिम प्रकाशित सूचना अनुसार दरखास्त दिन चाहने व्यक्तिले सो सूचनामा तोकिएको दस्तुर सहित त्यस्तो सूचनामा तोकिएको म्यादभित्र सोही नियमको खण्ड (छ) बमोजिमको माध्यमबाट छनौट समितिमा दरखास्त बुझाउनु पर्नेछ ।”

१०.   मूल नियमावलीको नियम १४ मा संशोधन :  मूल नियमावलीको नियम १४ को सट्टा देहायको नियम १४ राखिएको छ :–

“१४. उम्मेदवार छनौट गर्ने आधार : (१) छनौट समितिले छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाले लिएको परीक्षाको प्राप्ताङ्कलाई आधार लिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि विदेशी सरकार, निकाय वा शैक्षिक संस्थाबाट प्राप्त छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा त्रिभूवन विश्वविद्यालय वा सो अन्तर्गतको शिक्षण संस्थाले लिएको परीक्षाको प्राप्ताङ्कलाई आधार लिइनेछ ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि चित्रकला, गायन, वाद्यवादन, नृत्य, सिलाई जस्ता विषयमा छात्रवृत्तिको लागि उम्मेदवार छनौट गर्दा छनौट समितिले छुट्टै आधार निर्धारण गरी उम्मेदवार छनौट गर्न सक्नेछ ।”

११.   मूल नियमावलीको नियम १६ मा संशोधन : मूल नियमावलीको नियम १६ को सट्टा देहायको नियम १६ राखिएको छ :–

“१६   योग्यताक्रम कायम गर्ने : (१) छनौट समितिले छात्रवृत्तिको लागि योग्यताक्रम कायम गर्दा शैक्षिक संस्थागत र विषयगत रुपमा साधारण तथा आरक्षण समूहहरुको छुट्टाछुट्टै योग्यताक्रम कायम गर्नेछ ।

(२) उपनियम (१) बमोजिम योग्यताक्रम कायम गर्ने क्रममा कुनै व्यक्तिको एकै विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्थाबाट परीक्षाको प्राप्ताङ्क प्राप्त भएको देखिएमा सबै भन्दा बढी प्राप्ताङ्कलाई आधार मानी योग्यताक्रम कायम गरिने छ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि चिकित्सा शास्त्र र दन्त चिकित्सा शास्त्र विषयको स्नातकोत्तर तहको छात्रवृत्तिको हकमा उम्मेदवारले परीक्षामा प्राप्त गरेको अङ्कमा नियम १५ बमोजिमको कार्य अनुभव वापतको अङ्क जोडी योग्यताक्रम कायम गरिनेछ ।

(४) उपनियम (१), (२) र (३) बमोजिम योग्यताक्रम कायम गर्दा एक भन्दा बढी उम्मेदवारहरुको अङ्क बराबर हुन गएमा त्यस्ता उम्मेदवारहरुको न्यूनतम शैक्षिक योग्यताको प्राप्ताङ्क प्रतिशतका आधारमा योग्यताक्रम कायम गरिनेछ ।

(५) छनौट समितिले यस नियम बमोजिम कायम गरेको योग्यताक्रम शिक्षा मन्त्रालय समक्ष पेश गरी सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।”

१२.   मूल नियमावलीमा नियम १६क. थप : मूल नियमावलीको नियम १६ पछि देहायको नियम १६क. थपिएको छ :–

“१६क.       छात्रवृत्तिको लागि मनोनयन गनेर्े : (१) नियम १६ बमोजिम योग्यताक्रम प्रकाशन भए पछि छनौट समितिले त्यस्तो योग्यताक्रममा रहेका उम्मेदवारलाई आफ”ले अध्ययन गर्न चाहेको विषय र शिक्षा मन्त्रालयलाई प्राप्त भएको छात्रवृत्ति सिट संख्याको अधीनमा रही शिक्षण संस्थाको प्राथमिकताक्रम तोक्न कम्तीमा सात दिनको म्याद दिई सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सूचना प्रकाशित भए पछि सम्बन्धित उम्मेदवारले छनौट समितिले उपलव्ध गराएको फाराममा आफ”ले अध्ययन गर्न चाहेको विषय, शिक्षण संस्था वा मुलकको प्राथमिकताक्रम तोक्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राथमिकताक्रम प्राप्त भए पछि छनौट समितिले नियम १६ बमोजिमको योग्यताक्रमको आधारमा छात्रवृत्तिको विषय तथा स्वदेशको हकमा सम्बन्धित शिक्षण संस्था र विदेशको हकमा सम्बन्धित मुलकको नाम खुलाई मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको सूची प्रकाशन गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम सूची प्रकाशन गर्दा सम्बन्धित उम्मेदवारले सम्पर्क राख्नु पर्ने अवधि तथा दाबी विरोध गर्न चाहने उम्मेदवारले दाबी विरोध गर्न पाउने समय समेत उल्लेख गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको अवधि भित्र कसैको दाबी विरोध परेमा छनौट समितिले सो सम्बन्धमा आवश्यक छानविन गरी अन्तिम सूची तयार गरी उम्मेदवार मनोनयनका लागि शिक्षा मन्त्रालय समक्ष पेश गर्नेछ ।

(६) उपनियम (५) बमोजिम उम्मेदवार मनोनयन गर्न सिफारिस प्राप्त भए पछि शिक्षा मन्त्रालयले सम्बन्धित उम्मेदवारलाई छात्रवृत्तिमा मनोनयन गर्नु पर्नेछ ।

(७) उपनियम (४) बमोजिमको अवधि भित्र मुख्य उम्मेदवार सम्पर्क गर्न नआएमा वा निजले अध्ययन गर्न नचाहेमा शिक्षा मन्त्रालयले वैकल्पिक उम्मेदवारलाई योग्यताक्रमको आधारमा मनोनयन गर्नेछ ।”

१३.   मूल नियमावलीको नियम १७ मा संशोधन : मूल नियमावलीको नियम १७ को सट्टा देहायको नियम १७ राखिएको छ :–

“१७. योग्यताक्रम मान्य रहने अवधि : (१) नियम १६ बमोजिम प्रकाशन गरेको योग्यताक्रम छात्रवृत्ति उपलब्ध गराउने विश्वविद्यालय वा शैक्षिक संस्थाको एक शैक्षिक सत्रका लागि मान्य हुनेछ । 

                  (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि विदेशी सरकार, निकाय वा  शैक्षिक संस्थाबाट प्राप्त छात्रवृत्तिको हकमा नियम १४ को उपनियम (२) बमोजिमको परीक्षाको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म मान्य रहनेछ ।

(३) यस नियमावलीमा अन्यत्र जुन सुकै कुरा लेखिएको भएतापनि शिक्षा मन्त्रालयबाट संवत् २०७१ सालमा सञ्चालन गरिएको परीक्षाबाट तयार भएको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक बर्षसम्म मान्य रहनेछ ।

तर त्यस्तो योग्यताक्रमको सूची कुनै शिक्षण संस्थाको एक शैक्षिक सत्र भन्दा बढी अवधिको लागि मान्य रहने छैन ।”   

१४.    मूल नियमावलीको नियम २६क.मा संशोधन : मूल नियमावलीको नियम २६क.मा रहेका “हुने परीक्षामा” भन्ने शब्दहरु झिकिएका छन् ।

१५.   मूल नियमावलीको नियम २७क. मा संशोधन :  मूल नियमावलीको नियम २७क. को,–

(१)  उपनियम (१) मा रहेका “शुल्क” भन्ने शब्द पछि “र शिक्षा मन्त्रालयले तोके बमोजिमका कागजात” भन्ने शब्दहरु थपिएका छन् ।

(२)    उपनियम (१) पछि देहायको उपनियम (१क) थपिएको छ :–

“(१क) शिक्षा मन्त्रालयले उपनियम (१) बमोजिम स्वीकृतिपत्रको लागि दिइने निवेदन विद्युतीय माध्यमबाट समेत लिने व्यवस्था मिलाउन सक्नेछ ।”

(३)   उपनियम (२) मा रहेका “उपनियम (१)” भन्ने शव्दहरुको सट्टा “उपनियम (१) वा (१क)” भन्ने शव्दहरु राखिएका छन् ।

(४)   उपनियम (३) मा रहेका “उपनियम (१)” भन्ने शव्दहरुको सट्टा “उपनियम (१) वा (१क)” भन्ने शव्दहरु राखिएका छन् ।

१६.   मूल नियमावलीमा नियम २७घ. थप : मुल नियमावलीको नियम २७ग. पछि देहायको नियम २७घ. थपिएको छ :–

“२७घ.  कागजात धुल्याउन सक्ने : (१) शिक्षा मन्त्रालयले छात्रवृत्तिको लागि प्राप्त दरखास्त र सो साथ संलग्न कागजात तथा यो नियम प्रारम्भ हुनु अघि सञ्चालन गरिएका छात्रवृत्ति सम्बन्धी परीक्षासँग सम्बन्धित कागजातहरु योग्यताक्रम कायम भएको एक बर्ष पछि प्रचलित कानून बमोजिम धुल्याउन सक्नेछ ।

(२) शिक्षा मन्त्रालयले स्वीकृतिपत्रको लागि नियम २७क. को उपनियम (१) बमोजिम निवेदकले पेश गरेका कागजात दुई वर्ष पछि प्रचलित कानून बमोजिम धुल्याउन सक्नेछ ।

तर स्वीकृतिपत्रको विद्युतीय अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।”     

१७.   मूल नियमावलीको अनुसूचीमा संशोधन :  मूल नियमावलीको,–

(१)   अनुसूची–२ झिकिएको छ ।

(२)   अनुसूची–३ को खण्ड (छ), (ज), (झ), (ञ) र (ट) झिकिएका छन् ।  

(३)   अनुसूची–५ मा रहेका “Scholarship Section” भन्ने शब्दहरु झिकिएका छन् ।

(४)   अनुसूची–७ मा रहेका “Scholarship Section” भन्ने शब्दहरु झिकिएका छन् ।

 १८.  रुपान्तर : मूल नियमावलीको ठाउँ ठाउँमा रहेका “अपाङ्ग” भन्ने शब्दको सट्टा “अपाङ्गता भएका       व्यक्ति” भन्ने शब्दहरु राखी रुपान्तर गरिएको छ ।

 १९.    खारेजी : मूल नियमावलीको नियम १८ र १९ खारेज गरिएका छन् ।


Attached Documents
Title Size Type View Download
scholar_rule_4 159 Kb application/pdf View Download

Most Visited Links