काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनबारे शिक्षा मन्त्रालयको प्रेस विज्ञप्ति

काठमाडौं नेशनल मेडिकल कलेज प्रा.लि.ले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको विषयक सञ्चार माध्यममा प्रकाशित/प्रशारित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । त्रिभुवन विश्वविद्यालयबाट काठमाडौं नेशनल मेडिकल कलेज प्रा.लि. लाई सम्बन्धन दिएको सम्बन्धमा यस मन्त्रालयसँग जोडिएर आएका समाचारका सम्बन्धमा वास्तविक तथ्यहरु यो विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

  • त्रिभुवन विश्वविद्यालयबाट काठमाडौं नेशनल मेडिकल कलेज प्रा.लि. लाई सम्बन्धन प्रदान भएको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएपछि मात्र सो कुराको जानकारी यस मन्त्रालयलाई हुन आएको । तत्पश्चात् यस विषयका सम्बन्धमा माननीय उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्रिज्यूबाट उक्त विश्वविद्यालयका उपकुलपतिज्यूलाई मन्त्रालयमा बोलाई विश्वविद्यालयबाट हाल भए गरेका निर्णयको औचित्य र सान्दर्भिकताका सम्बन्धमा जानकारी लिनुभएको,
  • सो पश्चात् माननीय उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्रिज्यूले विद्यमान अवस्थाको विश्लेषणका साथ प्रचलित कानून तथा मापदण्ड अनुसार उक्त निर्णय उपर तत्कालै समिक्षा गरी सर्वस्वीकार्य बनाउन आग्रह गर्नुभएको,
  • सम्बन्धन दिनुपूर्व यस विषयमा माननीय उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्रिज्यूसंग कुनै परामर्श नभएको र सम्बन्धन दिनका लागि त्रिभुवन विश्वविद्यालयलाई कुनै पनि किसिमको निर्देशन दिनुभएको छैन ।

 

(हरिप्रसाद लम्साल)

सहसचिव एवम् प्रवक्ता

शिक्षा मन्त्रालय

            २०७४ भदौ १७ गते