Historical Background

नेपालमा शिक्षा विकासका केही तथ्यहरू

ऐतिहासिक पृष्ठभूमि

नेपालमा परम्परागत हिन्दु–वैदिक शिक्षाको लामो इतिहास थियो । बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरूमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र हिन्दु–वैदिक शिक्षाअन्तर्गत विशेषतः गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए ।

नेपालको एकीकरण पूर्व र एकीकरणपछि पनि शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र लिएको देखिँदैन । त्यस बेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिको दान, सरकारको अनुदान इत्यादिबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो।

नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं. १९१० मा दरबारस्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । नेपालमा उच्चशिक्षाको औपचारिक सुरुआत भने वि.सं १९७५ मा त्रिभुवन चन्द्र कलेज (त्रिचन्द्र कलेज) को स्थापनाबाट भएको देखिन्छ ।

नेपालमा वि.सं.२००७ साल भन्दा पहिले शिक्षाको पहुँच ज्यादै सीमित व्यक्ति तथा समुदायमा भएकाले आम जनसमुदाय शिक्षाको अवसरबाट वञ्चित रहेका थिए । यस तथ्यलाई वि.सं.२००७ सालको शैक्षिक तथ्याङ्कले पनि स्पष्ट पार्दछ । त्यसबेला नेपालको साक्षरता करिब २ प्रतिशत मात्र थियो भने प्रारम्भिक (प्राथमिक) स्कुल÷पाठशालाहरू ३२१, माध्यमिक स्कुलहरू ११ र उच्च शिक्षाअन्तर्गत एउटा कलेज सञ्चालित थियो (राष्ट्रिय शिक्षा आयोग,२०४९) । त्यसबेला एउटा संस्कृत विद्यालयमा औपचारिक रूपमा भए पनि संस्कृतमा उच्च शिक्षा प्रदान गरिएको देखिन्छ भने एउटा आयुर्वेद विद्यालयमा पनि उच्च तहको अध्यापनको व्यवस्था रहेको थियो (शाही उच्च शिक्षा आयोग, २०४०) ।

वि.स.२००७ को राजनीतिक परिवर्तनपछि राज्यले पनि शिक्षा विस्तारमा लगानी ग¥यो भने आमजनसमुदायहरू विद्यालयहरू खोल्ने र बालबालिकाहरूलाई शिक्षा दिने कार्यमा सव्रिmय रहेका थिए । त्यसबेला  शिक्षण संस्था र विद्यार्थी सङ्ख्यामा क्रमिकरुपमा वृद्धि भएको थियो।

वि.स. २००७ सालपछि नेपालमा शिक्षाको विकासका लागि भएका केही प्रयासहरू निम्नअनुसार थिए :  

  • वि.स. २०११ (सन् १९५४) मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगद्वारा राष्ट्रिय शिक्षा प्रणालीको आधार तयार गरिएको थियो ।
  • वि.सं. २०१८ (सन् १९६१) मा सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति गठन गरी शिक्षालाई समयानुकूल परिवर्तन गर्ने प्रयास गरिएको थियो ।
  • वि.स. २०२८ (सन् १९७१) मा राष्ट्रिय शिक्षा पद्धतिको योजना कार्यान्वयन गरी नयाँ शिक्षाको सुरुआत भयो ।
  • वि.स. २०३७ (सन् १९८०) देखि हालसम्म विद्यालय र उच्च शिक्षामा पहुँचको विस्तार र गुणस्तर वृद्धि गर्न विभिन्न परियोजना तथा कार्यक्रमहरू सञ्चालन गरिएका छन् । यस अवधिमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमहरूमा ग्रामीण विकासका निम्ति शिक्षा परियोजना, प्राथमिक शिक्षा परियोजना, आधारभूत तथा प्राथमिक शिक्षा परियोजना प्रथम र दोस्रो, प्राथमिक शिक्षा विकास परियोजना, माध्यमिक शिक्षा विकास परियोजना, सबैका लागि शिक्षा कार्यक्रम, शिक्षक शिक्षा आयोजना, जनसङ्ख्या शिक्षा परियोजना, माध्यमिक शिक्षा सहयोग कार्यक्रम, सामुदायिक विद्यालय सहयोग कार्यक्रम, शिक्षाका लागि खाद्य कार्यक्रम, विद्यालय क्षेत्र सुधार योजना, उच्च शिक्षा परियोजना प्रथम र दोस्रो, रोजगारीका लागि सीप परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना प्रमुख रहेका छन् ।
  • वि. सं. २०४६ पछि शिक्षामा सुधारका लागि सुझाव दिने गरी सरकारले गठन गरेको राष्ट्रिय शिक्षा आयोगले वि.सं. २०४९ (सन् १९९२) मा र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले वि.सं. २०५५ (१९९९) मा प्रतिवेदन पेस गरेअनुसारका  सुझावहरूअनुरूप शिक्षामा सुधारका प्रयासहरू हुँदै आएका छन् ।

हाल विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी, सन् २००९–१६) मार्फत् विद्यालयको समग्र पक्षमा सुधार गर्ने प्रयास गरिएको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू तथा परियोजनाहरू सञ्चालन भएका छन् । उच्च शिक्षाको विस्तार र गुणस्तर अभिवृद्धिका लागि बहुविश्वविद्यालयको अवधारणा कार्यान्वयन भई हाल नौओटा विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । उच्च शिक्षाको सुधारका लागि दोस्रो उच्च शिक्षा परियोजना पनि सञ्चालनमा रहेको छ ।

वर्तमान अवस्था

  • नेपालमा हाल बालविकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालयहरू कुल ३३,४०४ रहेका छन् । तीमध्ये ८६.१ प्रतिशत समुदायमा र १३.९ प्रतिशत निजी स्तरमा सञ्चालित छन् । ती बालविकास केन्द्रहरूमा कुल १०,५६,४३० विद्यार्थीहरू अध्ययनरत छन् जसमध्ये ४८.१ प्रतिशत छात्रा रहेका छन् (DOE, 2012)
  • कुल ३४,३६१ विद्यालयहरू सञ्चालनमा रहेका छन् । प्राथमिक तहमा सबैभन्दा बढी ३३,८८१ विद्यालयहरू सञ्चालित छन् जहाँ कुल ४७,८२,८८५ विद्यार्थीहरू (छात्रा ५०.४ प्रतिशत) अध्ययनरत छन्  । आधारभूत र माध्यमिक तहमा क्रमशः ३६,०६६ र ७,९३८ विद्यालयहरू सञ्चालित छन् । आधारभूत तहमा ६५,९५,५६५ विद्यार्थीहरू (छात्रा ५०.४) अध्ययनरत छन् भने माध्यमिक तह (कक्षा ९ र १०)मा ८,४८,५६९ विद्यार्थीहरू (छात्रा ४९.७) अध्ययनरत छन् ।(DOE, 2012)
  • प्राथमिक तहमा अहिले पनि विद्यालय जाने उमेरका करिब ४.९ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् । कक्षा १ मा विद्यालय छाड्ने विद्यार्थीहरूको अनुपात ८.३ प्रतिशत रहेको छ भने कक्षा दोह¥याउने दर २१.३ प्रतिशत छ (शिक्षा विभाग, २०११) । कक्षा १ मा भर्ना भएका विद्यार्थीहरू कक्षा ५ सम्म टिकिरहने दर ८२.८ रहेको छ । छात्राको टिकाउ दर (८४.३ प्रतिशत) र छात्रको टिकाउ दर (८१.७ प्रतिशत) रहेको छ ।  (DOE, 2012)
  • विद्यालय तह (कक्षा १–१०) मा कुल २,५८,२३७ शिक्षक कार्यरत छन् । प्राथमिक तहमा १,७३,७१४ शिक्षक कार्यरत छन् जसमध्ये ४२.२ प्रतिशत महिला शिक्षक छन् । माध्यमिक तहमा ३५,६७५ (महिला १७.६ प्रतिशत) कार्यरत छन् । हाल विद्यार्थी र शिक्षकको अनुपात प्राथमिक र माध्यमिक तहमा क्रमशः २७.५ र २३.८ रहेको छ । (DOE, 2012)
  • उच्च माध्यमिक तहका ३,३८३ विद्यालयहरू सञ्चालनमा छन् । जसमध्ये २,४९९ ओटा सामुदायिक, ५८९ ओटा निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रबाटै थप १५९ ओटा कक्षा ११ र १२ मात्रै सञ्चालित संस्था छन् भने १३६ ओटा उच्च माध्यमिक कक्षाहरू क्याम्पसहरूमा सञ्चालित छन् । उच्च माध्यमिक तहमा कक्षा ११ र १२ मा गरी जम्मा ६,५५,४१५ विद्यार्थीहरू अध्ययनरत छन् जसमध्ये ४६.८ प्रतिशत छात्राहरू रहेका छन् ।  ( HSEB, 2012)
  • उच्च शिक्षातर्फ ९ ओटा विश्वविद्यालय र अन्तर्गत ९० ओटा आङ्गिक र १०१२ ओटा सम्बन्धन प्राप्त क्याम्पसहरू गरी कुल ११०२ क्याम्पस रहेका छन् । कुल क्याम्पसमध्ये सबैभन्दा बढी ५२.४ प्रतिशत क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित छन् भने नयाँ खोलिएका तीनओटा विश्वविद्यालयहरू (सुदुरपश्चिम, मध्य पश्चिम र कृषि तथा पशुविज्ञान विश्वविद्यालय)मा हालसम्म कुनै पनि शैक्षिक कार्यक्रम सुरु भएका छैनन् । हाल उच्च शिक्षामा कुल ४,१२,५४० विद्यार्थी अध्ययनरत छन् जसमध्ये ४१.६ प्रतिशत छात्राहरू रहेका छन् (UGC, 2012) ।  विश्वविद्यालयअन्तर्गतका उच्च शिक्षण संस्थाबाहेक ३ ओटा प्रतिष्ठानअन्तर्गत तीन ओटा चिकित्साशस्त्रमा उच्च शिक्षा दिने संस्थाहरू पनि सञ्चालनमा रहेका छन् ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमअन्तर्गत प्राविधिक एसएलसी (TSLC) र  डिप्लोमा तहका आङ्गिक ७२ (एनेक्स ४५ सहित) र सम्बन्धन प्राप्त ३४६ गरी जम्मा ४१८ ओटा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक संस्थाहरू रहेका छन् । ती तालिम प्रदायक संस्थाहरूमा कुल  २५,३१३ विद्यार्थीहरू भर्ना भएका छन् । (CTEVT, 2012)

Most Visited Links